नमस्कार, म पुकार बम।
मैले मेरो किशोरावस्थादेखि पछिल्लो २० वर्ष सामाजिक र राजनीतिक अभियानमार्फत सङ्घर्ष गरिरहेँ। अध्ययनका हिसाबले म Ph.D. in Social Work and Development गर्दै छु। मैले Sociology / Anthropology र Political Science दुई विषयमा स्नातकोत्तर गरेको छु। पेशाले म Lecturer र BSW को विभाग प्रमुख हुँ।
विगत दुई दशकका राजनीतिक उथलपुथललाई नजिकबाट नियाल्दै गर्दा, आफ्नै अगाडि बारम्बार राजनीतिक परिवर्तन भएको देखियो, तर नागरिकको अवस्था परिवर्तन भएको महसुस गर्न सकिएन। लोकतन्त्रको नाउँमा नेताहरूले लुटतन्त्र मचाइ नै रहे।
अब अति भयो। Enough is Enough!
लुटतन्त्र विरुद्ध निर्णायक लडाईँ लड्न मुलुकभर आम युवा साथीहरूलाई समेत अपिल गर्दै यही वर्ष सम्पन्न हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ४ बाट मेरो उम्मेदवारी रहने घोषणा गर्दछु।
लामो सङ्घर्ष पछि प्राप्त लोकतान्त्रिक राज्यव्यवस्थालाई संविधानमार्फत संस्थागत गरिसकेपछि अब नागरिकको अवस्था परिवर्तन गर्नुपर्ने नयाँ राजनीति नागरिकहरूको चाहना हो। हाम्रो राजनीति पनि नागरिकको अवस्था परिवर्तन गर्ने राजनीति हो।
अब मुलुकको नीति बनाउने थलो संसदले समेत नयाँ अनुहार खोजेको छ, ताजगी खोजेको छ। त्यसैले, राजनीतिक भ्रष्टाचार र लुटतन्त्र विरुद्ध युवा प्रतिरोधको आवाज संसदमा पुग्न जरुरी छ। यसैको पहलस्वरुप मेरो उम्मेदवारी हो।
आफ्नो योग्यता, क्षमता, अहिलेसम्म गरेको राजनीतिक – सामाजिक कार्यहरूलाई साक्षी राख्दै काठमाडौँ क्षेत्र नं. ४ का सचेत र परिवर्तनप्रेमी नागरिकहरू समक्ष म मेरो उम्मेदवारी प्रस्तुत गर्दै छु।
म काठमाडौँकै मतदाता हुँ। विद्रोह र भद्र प्रतिरोध मेरो स्वभाव हो। कलेज पढ्दै गर्दा, परीक्षा नहुँदा कलेज प्रशासनलाई प्रश्न गरेँ। आफैँ पढेको कलेजहरूका बेथितीविरुद्ध शान्तिपूर्ण अभियान चलाएँ। दोस्रो जनआन्दोलन पछिको परिवर्तनको घर्षणले तरल भएको राष्ट्रिय एकता पुनः स्थापित गर्न ‘नेपाल युनाइट्स’ अभियानको नेतृत्वदायी भूमिकामा रही काम गरेँ।
२०६९ माघमा सुरु गरिएको महिला हकहितको पक्षमा र हिंसाविरुद्ध कानून बनाउन १०० दिन भन्दा बढी ‘अकुपाइ बालुवाटार’ अभियानमा आन्दोलनको नेतृत्वदायी भूमिकामा रही सक्रिय भएँ। डा. गोविन्द केसीको पहिलो सत्याग्रहदेखि नै अग्रपंक्तिमा रही नेतृत्वदायी भूमिकामा निरन्तर सहभागी भएँ।
नेपाल खुल्ला छ, ‘नेताज्यू खबरदार , संविधान कहिले?’ जस्ता दर्जनौँ रचनात्मक प्रतिरोधका राजनीतिक अभियान हुँदै स्व. उज्वल थापासँग मिलेर २०६९ को साउनमा विवेकशील नेपाली दलको स्थापना गर्न नेतृत्व लिएँ।
२०७२ सालको महाविनाशकारी भूकम्पमा विवेकशील नेपालीमार्फत देशैभर राहत वितरण र उद्धार, कोरोना कहरको पहिलो र दोस्रो लकडाउन बीच ‘हाम्रो सानो प्रयास’ को संयोजक भएर ५०० दिन बढी नि:शुल्क खाना खुवाउने, ५०० भन्दा बढी अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर व्यवस्थापन गर्ने सामाजिक अभियानको नेतृत्व गरेँ।
२०७७ सालमा मेरो जीवनमा एउटा महत्त्वपूर्ण मोड आयो। राजनीतिलाई समेत समाजसेवाको माध्यम बनाएर काम गरिरहँदा नागरिकका पीडामा राज्यको रवैया निर्दयी र निर्मम भएको देख्न नसकेर #EnoughIsEnough अभियानमार्फत साथी ई: सँग १२ दिन सत्याग्रह (पानी र खाना बिनाको आमरण अनशनमा) बसेँ। मृत्युसँग लड्दै नागरिकका पीडालाई खबरदारीमार्फत सत्तासम्म पुर्याइरहँदा प्रत्येक पल मेरो आँखामा मेरी आमा र दिदीबहिनीहरु आउनुहुन्थ्यो। त्यति बेला कोरोनाबाट नागरिकको ज्यान जोगाउन पहल लिऊ भन्ने सामान्य प्रश्नका लागि पनि आमरण अनशन बस्नुपरेको थियो।
युवा साथीहरू, काठमाडौँ क्षेत्र नं. ४ का मतदाता महानुभावहरू,
अब नागरिकका यी प्रश्न सोध्ने स्थान बदल्न चाहन्छु। म सडकबाट मात्र होइन सदनबाट नागरिकलाई साथ दिन चाहन्छु। सडकमा २० वर्ष सङ्घर्ष गरेर अब सदनमा पुगेर सदनलाई नागरिकहरूको आवाज सुनिने थलो बनाउन चाहन्छु। म सबै निर्वाचन क्षेत्रहरूमा आ-आफ्नो ठाउँबाट लुटतन्त्रको प्रतिरोध गर्न युवाहरूलाई उम्मेदवारी दिन र नयाँ राजनीतिको जग बसाल्न नेतृत्व लिन पनि अपिल गर्दछु।
भर्खरैको स्थानीय निर्वाचनमा देशका केही मुख्य सहरहरूमा पालिकाको नेतृत्वमा सक्षम र युवा उम्मेदवारलाई स्थापित गरेजस्तै सङ्घीय संसदमा समेत सक्षम युवाहरूलाई स्थापित बनाउनुपर्नेछ। देशभरबाट सक्षम नेतृत्वले उम्मेदवारी दाबी गर्ने लहर काठमाडौँ क्षेत्र नं. ४ को यो हाम्रो उम्मेदवारीको एउटा झिल्कोबाट सुरु हुने र यसले नयाँ सम्भावना स्थापित गर्ने हाम्रो विश्वास छ।
उज्ज्वल भविष्यका निम्ति हामी सबैलाई शुभकामना!
नेपाल आमाको जय होस्।
#EnoughIsEnough
#WeDeserveBetter
#Pukar4KTM4